द इन्टरनेसनल हेराल्ड ट्रिब्युन- अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिलिकन भ्यालिका दिग्गजलाई गत वर्ष क्यालिफोनिर्याको रात्रिभोजको निम्तो पठाउँदा प्रत्येक निम्तालुलाई राष्ट्रपतिसँग सोध्ने प्रश्नसहित आउन भनिएको थियो।रात्रिभोजमा एप्पलका तत्कालीन प्रमुख स्टिभ जब्स बोल्दै गर्दा ओबामाले बीचमै रोकेर सोधे, 'अमेरिकामै आइफोन उत्पादन गर्न के गर्नुपर्छ?'धेरै अघिको कुरा होइन एप्पल उसको अधिकांश उत्पादन अमेरिकामै हुन्छ भन्नेमा गर्व गर्थ्यो। आज थोरै उत्पादन अमेरिकामा हुन्छ। एप्पलका ७ करोड आइफोन, ३ करोड आइप्याड र ६ करोड अन्य उत्पादनमध्ये सबैजसो अमेरिका बाहिर बनेका छन्।
'ती काम अमेरिकामै किन हुन सक्दैन?,' ओबामाले सोधे। भोजमा निम्त्याइएका अर्का निम्तालुका अनुसार यी काम अमेरिकामा फर्किने छैनन् भन्ने जब्सले स्पष्ट जवाफ दिए।
यो मुद्दा अमेरिका बाहिर सस्ता कामदार पाइन्छन् भन्नेसँग मात्र जोडिएका छैन। एप्पलका कार्यकारी अमेरिकीको तुलनामा बाहिरका कारखानामा ठूलो परिमाणको उत्पादन, कामदारमा सावधानी, औद्योगिक सिप र बढी लचकता देख्छन्। 'अमेरिकामा बनेको' भन्ने कुराले मात्रै एप्पललाई अघि ल्याउँछ भन्ने उनीहरुलाई लाग्दैन।
एप्पल संसारमै बढी चिनिएको, प्रसंशा पाएको र नक्कल गरिएको कम्पनीमा दरिएको छ। गत वर्ष उसले प्रति कर्मचारी ४ लाख डलर नाफा गरेको थियो। यो बैंकिङ क्षेत्रको गोल्डम्यान सास, पेट्रोलियम क्षेत्रको एक्सोन मोबिल र सूचना प्रविधि क्षेत्रको गुगलको भन्दा धेरै हो।
तैपनि एप्पल र अरु उच्च प्रविधियुक्त सहधर्मीले पहिलेका अमेरिकी कम्पनी उत्कर्षमा भएका बेलामा जस्तो स्वदेशमा रोजगारी सिर्जना नगरेको विषयले ओबामा, अर्थशास्त्री र नीति निर्माताहरुलाई चिन्तित बनाएको छ।
एप्पलले अमेरिकामा ४३ हजार, बाहिर २० हजार जनालाई रोजगारी दिएको छ। १९५० को दशकमा जनरल मोटर्सले ४ लाख अमेरिकीलाई रोजगारी दिएको थियो भने १९८० मा जनरल इलेक्ट्रिकले एक लाखभन्दा बढी अमेरिकीलाई काम दिएको थियो। एप्पलले पार्टपुर्जा बनाउन ठेक्का दिएका कम्पनीहरुमा ७ लाखले काम गर्छन् जो अमेरिकी होइनन्।
'अमेरिकामा मध्यम स्तरको रोजगारी कठिन बन्दै गएको एप्पल एउटा उदाहरण हो,' ह्वाइट हाउसका पूर्व आर्थिक सल्लाहकार जार्ड बर्नस्टेइनले भने, 'यो पुँजीवादको उत्कर्ष हो भने हामी चिन्तित हुनै पर्छ।'
एप्पलका कार्यकारी विदेशमा जानुलाई आफ्नो बाध्यता बताउँछन्। चीनको कारखानामा आइफोनको स्त्रि्कन परिवर्तन गरिएको एउटा उदाहरण ती कार्यकारी प्रस्तुत गर्छन्। बजारमा लैजान ठिक्क पारिएको आइफोनको स्क्रिन परिवर्तन गर्ने निर्णय अन्तिम समयमा भएको थियो।
त्यतिबेला कारखानाका सुपरिवेक्षकका अनुसार कारखानाको आवासमा सुतिरहेका ८ हजारका कामदारलाई मध्यरातमा उठाएर काममा लगाइएको थियो। प्रत्येक कामदारलाई बिस्कुट र एक कप चियामात्रै दिइयो र चिया पिएको आधा घन्टापछि उनीहरुले लगातार १२ घन्टा काम गरे। त्यसपछिको ९६ घन्टामा उनीहरुले प्रति दिन १० हजार थानका दरले आइफोन बजारमा पुर्याएका थिए।
'यो गति र लचकता अकल्पनीय हो,' ती कार्यकारीले भने, 'अमेरिकाको कुनै पनि कारखानामा यो सम्भव छैन।'
सबैजसो विद्युतीय सामग्री उत्पादक कम्पनीको स्थिति यही हो। लेखा, कानुन, वित्त, मोटरकार औषधीलगायत सबैजसो उद्योगमा आउटसोर्सिङ सामान्य भइसकेको छ।
कम्पनी तथा अर्थशास्त्रीहरु जुन नीतिमा अमेरिका अगाडि बढेको छ त्यो गलत हो भन्छन्। अमेरिकीहरु संसारमै सबैभन्दा बढी शिक्षितमा पर्छन्। कारखानाहरुलाई चाहिने मध्यमस्तरको जनशक्तिको उत्पादन अमेरिकामा लगभग बन्द भइसकेको उनीहरु बताउँछन्।
'हामी आइफोन सयभन्दा बढी देशमा बेच्छौं,' एप्पलका एक कार्यकारीले भने, 'हाम्रो दायित्व अमेरिकाको समस्या समाधान गर्ने नभई उत्कृष्ट वस्तु उत्पादन गर्ने हो।'
कम्पनीले हरेकपल्ट उच्च गुणस्तरको उत्पादन सस्तो मूल्यमा ल्याउने र धेरै नाफा गर्ने विषयमा छलफल चलाउँदा त्यो काम अमेरिकाबाहिर मात्रै सम्भव हुने निष्कर्षमा पुग्ने गरिएको उनले बताए। एप्पलका विभिन्न संस्करणमा लाग्ने पुर्जा फरक भए पनि सबैजसोको ९० प्रतिशत पुर्जा बाहिरै उत्पादन हुने गरेको जानकारी उनले दिए। उनका अनुसार जर्मनी, कोरिया, ताइवान, जापानलगायत युरोप, एसिया र अफ्रिामा बनाइएका पुर्जालाई चीनमा लगेर जोडजाड पारिन्छ।
सूचना प्रविधिका प्रतिस्पर्धी र अन्य कम्पनीहरु विदेशमा गइसक्दा पनि एप्पल आफ्ना उत्पादन अमेरिकामै गर्थ्यो। २००४ मा भने एप्पलले पनि विदेशमा नगई धरै पाएन। तत्कालीन सञ्चालन प्रमुख टिम कुकले एप्पललाई यो निर्णय गर्न बाध्य बनाएका थिए। अप्ठेरोमा परेको एप्पलले त्यतिबेला उपलब्ध सबै अवसरको उपयोग गर्नै पर्ने स्थिति थियो।
एप्पलले एसिया रोज्नुका पछाडि दुई कारण भएको एक कार्यकारी बताउँछन्। एसियामा कारखानाको आकारलाई सजिलै ठूलो वा सानो बनाउन सकिन्छ। अर्को एसियाको आपूर्ति सञ्जाल अहिले अमेरिकाको भन्दा राम्रो बनेको उनले बताए। 'यी दुई चीजलाई उपयोग गरेर कम्पनीले जस्तोसुकै चुनौती सामना गर्न सक्ने हामीलाई लाग्यो,' उनले भने।
सुदृढ आपूर्ति सञ्जालको उदाहरणका लागि उनले चिनियाँ औद्योगिक सहर सियान्जेनलाई अगाडि सारे। 'तपाईलाई हजारौं रबरको ग्यास्केट चाहियो त्यो अघिल्तिरको कारखानामा पाउन सकिन्छ, लाखौंको संख्यामा पेच चाहियो त्यो अर्को ब्लकको कारखानामा उपलब्ध छ,' उनले भने, 'त्यतिमात्रै होइन कारखानाले उत्पादन गर्दै आएको पेचभन्दा फरक खालको चाहियो भने तीन घन्टाभित्रै त्यो पनि तयार हुन्छ। ' अहिले चीनमा सबै आपूर्ति सञ्जाल स्थापना भइसकेको उनले जानकारी दिए।
चिनियाँ कामदारको प्रयोगलाई लिएर एप्पलको आलोचना गर्नु निरर्थक भएको कम्पनीका कार्यकारी बताउँछन्। 'हामीलाई चाहिने जस्तो सिप भएको जनशक्ति अमेरिकामा छैन,' उनले भने। उनले अमेरिकामै पनि एप्पलले अरुको तुलनामा बढी रोजगार सिर्जना गरेको दाबी गरे। एप्पलको आइफोन तथा आइप्याडको बिक्रीमा बढोत्तरी सँगै ती बिक्री केन्द्रका लागि आवश्यक जनशक्ति अमेरिकीहरुमध्येबाटै आउने उनले जानकारी दिए।
रात्रिभोजको अन्ततिर सबै जना राष्ट्रपतिसँग सामुहिक फोटो खिचाउन लागे। केही जब्सको वरिपरि झुम्मिए। राष्ट्रपति र अन्य निम्तालुलाई उनले भने,'म यो देशको दीर्घकालीन भविष्यबारे चिन्तित छैन। अमेरिका महान देश हो भन्नेमा कुनै शंका छैन। तर, हामीहरु समाधानबारे धेरै कुरा गर्दैनौं। यो चिन्ताको विषय हो।'
रात्रिभोजका सहभागीमध्ये केहीले विदेशी कामदारलाई भित्र्याउन सरकारले भिसा नीति लचिलो बनाउनुपर्ने सुझाव दिए। केहीले 'ट्याक्स होलिडे' गर्नुपर्छ भनेर सुझाए। कसैले अमेरिकीहरुलाई आवश्यकता अनुसारको तालिम दिन सरकारले सहयोग गर्नुपर्छ भन्ने माग गरे।
अर्थशास्त्रीहरु यसखालका सुझावको उपयोगितामाथि प्रश्न गर्छन्। संघर्षरत अर्थतन्त्रमा कहिलेकाहिँ अनपेक्षित घटनाक्रम देखा पर्ने तर्क उनीहरु गर्छन्। अझै पनि अमेरिकी सिर्जनशीलताले लाखौं रोजगारी सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अनुत्तरित छ। सौर्य तथा वायु ऊर्जा, सेमिकन्डक्टर तथा डिस्प्ले प्रविधि क्षेत्रको आविष्कारमा अमेरिकीहरुले ठूलो फड्को मारे। तर जब यी क्षेत्रले उद्योगको रुप लिए र बजारमा जान थाले रोजगार अवसर सबै विदेशियो। जब कुनै आविष्कारलाई बजारमा ल्याउने चरण आउँछ उत्पादनका लागि सबै कम्पनी चीन पुग्ने गर्छन्।