Saturday, December 24, 2011

खाजा खर्च जोगाएर विद्यालयलाई सहयोग


मातृभूमि प्रतिको लगाव आखिर जहाँ भए पनि उस्तै । देशप्रतिको लगावका लागि उमेरको के कुरा भयो र । हेर्नुस न टेक्सासको डलासको यी दुई दिदी बहिनी बालिकालाई ।
एघार वर्षीया कृर्तिमा लामिछाने र नौ वर्षीया ईच्छा लामिछानेले आफनो विद्यालयको खाजा खर्च बचाएर गोरखाको नामजुङ गाविसका दुई प्राथमिक विद्यालयलाई कम्प्युटर र छात्रवृतिका लागि आर्थिक सहयोग गरेका छन् । दुई बालिकाले अभिवाहकले दिएको स्कुल खाजा खर्च र अन्य खर्च जोगाएर झण्डै ४४ हजारको सहयोग गरेका छन् ।
कृर्तिमाले ईकान्तिपुरसँग भनिन्, 'बाबा आमाले दिएको खाजा खर्च, अन्य खर्च जोगाएर खुत्रुकेमा जम्मा गरेको एक बर्षको रकमबाट स्कुललाई सहयोग गरेका हौं ।' नामजुङ गाविसको भिमसेन प्राथमिक विद्यालयलाई उनीहरुले एक कम्प्युटर र प्रिन्टरले प्रदान गरेका छन् । आफूले त्यहाँ नपढेपनि आफ्ना अभिवाहकहरुले शिक्षाले लिएको सो विद्यालयलाई सक्दो सहयोग गर्ने उनीहरुले बताए ।
हालै एक समारोहकाबीच बालिकाद्वयका हजुरबुवा रामप्रसाद लामिछानेले सो कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यापक वेदप्रसाद अधिकारी हस्तान्तरण गरेको बालिका अभिवावक कृष्ण लामिछाने बताएका छन् ।
त्यसैगरी उनीहरुले सोहि गाबिसको कालिका प्रावि अध्ययनरत नौ जना आदिवासी बालबालिकालाई जनही एक हजार नौ सय ७५ को दरले कुल अठार हजार सहयोग गरेका छन् ।
सहयोग रकम विद्यालय सन्चालक समितिका अध्यक्ष भरत खनाल र प्रधानाध्यापक तिलक काप्री मार्फत नौ बालिकाका अभिभावकलाई दिइएको हो ।
प्रकाशित मिति: २०६८ मंसिर १० ०७:१६
source: www.ekantipur.com 

No comments:

Post a Comment