Thursday, January 12, 2012

माघे सङ्क्रान्तिमा तेह्र हल गोरु जुधाइने

माघेसङ्क्रान्ति घ्यू, चाकु, तरुल खाने चाड त हो नै तर नुवाकोटमा भने माघसङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्छ। त्यो दिन यहाँ गोरु जुधाएर मनोरञ्जन लिइन्छ। यो वर्ष पनि जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिमा १३ हल गोरु जुधाइने भएको छ। तारुका-५ चन्दनीमा नौ हल र गेर्खु-९ बेत्रावतीमा चार हल गोरु जुधाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
तारुकामा गोरु जुधाउनका लागि नौ हल दर्ता भएको मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताए। मेलाका लागि किसानले गोरु राम्रो स्याहार गरी पालेकाले दर्शकले गत वर्षभन्दा बढी मनोरञ्जन पाउने दाबी उनले गरे।
निकै पुरानो मानिएको तारुकाको गोरु जुधाउने मेला पछिल्ला सात वर्षदेखि व्यवस्थितरुपमा एउटै पाटोमा हुँदै आएको छ। यहाँको गोरुजुधाइ हेर्न काठमाडौं धादिङ र रसुवालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा मानिस आउने गर्छन्।
यस्तै जिल्लाको बेत्रावतीमा पनि विगतमा झैँ यो वर्ष गोरु जुधाउने मेलाले निरन्तरता पाउने भएको छ। यो वर्ष जुधाउनका लागि चार हल गोरु दर्ता भइसकेको र अन्य गोरु पनि सम्पर्कमा आएकाले केही हल थप हुन सक्ने मेला व्यवस्थापन समितिका संयोजक चक्रबहादुर डङ्गोलले बताउनुभयो। मेलाका लागि तुप्चे, कालिकास्थान, गेर्खुलगायतबाट गोरु ल्याइने भएको छ।
पछिल्लो पाँच वर्षदेखि बेत्रावतीमा व्यवस्थितरुपमा गोरु जुधाउन थालिएको छ। मेलामा जित्ने गोरुधनीलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको गोसाइँकुण्ड युवा क्लबका सुरज लवटले बताए। रासस

No comments:

Post a Comment