Thursday, January 12, 2012

मकर संक्रान्ति संस्कृति


मकर संक्रान्ति संस्कृति

    (0 Votes)
    निजिरोस श्रेष्ठ (न्याछ्यों)
    nisiroj
    मकर संक्रान्ति पर्वलाई तिल संक्रान्तिका रूपमा लिने गरेको पाइन्छ । सूर्य एक राशिबाट अर्को राशिमा जानु वा प्रवेश गर्नु मकर संक्रान्ति हो । मकर राशिको नामबाट यसको नाम जुरेको हो । मकर संक्रान्तिमा सूर्य उत्तरायण हुन्छ । मकर संक्रान्तिलाई नेवार जातिले घ्यः चाकु संल्हु भन्ने गर्छन् । नेवार समुदायमा विशेष खानेकुराको रूपमा यो संक्रान्ति -संल्हु) मा घ्यू, चाकु खाने गर्छन् । विशेष खाद्य वस्तुको नामबाट नै यो पर्वको नाम घ्यः चाकु संल्हु रहेको छ । चाकुमा तिल राखी लड्डु बनाई खाने र दान दिने गर्छन् ।
    यो पर्वमा देवीदेवताको पूजा गर्नुका साथै आ-आफ्ना पुरोहितकहाँ गई विभिन्न खाद्यवस्तुहरू राखी सीधा दिन जाने चलन छ । मकर संक्रान्तिमा पाटनको अग्निशालामा होम गर्न जानेको घुइँचो नै लाग्ने गर्छ । त्यहाँ वैदिक परम्पराअनुसार होम गरिन्छ । यसका लागि मानिसहरूले तिल, जांै, घ्यू, चाकु, तरुल, दाउरा आदि लगी होम गराई, त्यस अग्निशालाको पुजारी वा अग्निहोत्रीलाई सिदा दान पनि गर्ने गर्छन् ।
    माघे संक्रान्तिमा तिलको होम, दान तथा खानाले वा उपभोग गर्नाले त्यो व्यक्ति कहिले असफल हुँदैन भन्ने धारणा रहेको पाइन्छ । उक्त दिन नदीको दोभानमा गई शुद्ध भई सीधा दान गर्नाले पुण्य हुन्छ र रोगव्याधि लाग्दैन भन्ने पनि धारणा छ ।
    कोही-कोहीले भने घरमै पूजाको काम सकिएपछि केही नखाई मक्कलमा आगो बाली सबभन्दा पहिला माछा -संन्या) होम गर्ने गर्छन् । माछा होम गर्नाले शत्रु नाश हुन्छ भन्ने धारणा पाइन्छ । त्यसपछि तिल, चाकु, घ्यू, तरुल होम गर्ने गर्छन् । पूजाको काम सकिएपछि घ्यू, चाकु, तिलको लड्डु राखी घरका सबै परिवार बसी प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । त्यसपछि बिहानको खानामा भात, मासको दाल वा मासको खिचडी बनाई त्यसमा घ्यू, चाकु झानेर यसका साथै अरू विभिन्न परिकार राखेर खाने गरिन्छ । बेलुका समयबजी वा भोज खान्छन् ।
    माघे संक्रान्तिमा दिउँसो आमा हुनेहरूले आमाको हातबाट टाउकोमा तेल लगाइदिने र कानभित्र तेल हाल्ने चलन छ । अनि घाममा बसी तेल घस्ने पनि प्रचलन छ । यस अवसरमा बिहे भइसकेका छोरीहरू आमाको हातबाट तेल लगाउन माइत आउने गर्छन् । बिहे भइसकेको छोरीको सन्तान भएको छैन भने लोग्नेको घरमा घ्यू, चाकु खानु हुँदैन भनी माइत बस्न जाने चलन छ । यदि माइत गइएन भने अरू परिकारहरू खाए पनि घ्यू, चाकु खाइँदैन । तर कसै-कसैको भने माइतीबाट लोग्नेको घरमा घ्यू, चाकु दिएर पठाउने चलन पनि छ ।
    मकर संक्रान्ति वा घ्यः चाकु संल्हुको दिन धार्मिक दृष्टिले मात्र होइन कि वैज्ञानिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण छ । धार्मिक रूपले हेर्ने हो भने यस दिनमा यदि कुनै पनि मानिसले घर एवं शरीर शुद्ध गरेन भने सात जन्मसम्म पनि निर्धन एवं रोगी हुन्छ भन्ने मान्यता पाइन्छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने यस पर्वमा गरिने सम्पूर्ण कार्य मानिसहरूको शरीर स्वस्थ एवं निरोगी बनाउन गरिने देखिन्छ । जुन मानिसको शरीरलाई बाह्य तापक्रम र आन्तरिक तापक्रम मिलाउनका लागि गरिएको वा अझ भनौंं भने शरीरको तापक्रम सन्तुलन वा एकनास राख्न गरिएको देखिन्छ । यो कार्य शरीर स्वस्थ राख्न अति आवश्यक छ ।
    त्यस्तै आन्तरिक रूपले शक्ति प्राप्त गर्न विभिन्न शक्ति प्रदान गर्ने परिकारहरू तथा प्रोटिनयुक्त खानेकुरा विशेषगरी घ्यू, चाकु र अरू परिकारहरू तरुल, पालुङ्गो, मास, तिलका साथै मासुजस्ता कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, फलाम, क्याल्सियमजस्ता शरीरलाई अति आवश्यक पौष्टिक तत्त्वहरूको उपभोग गरी आफ्नो शरीर तन्दुरुस्त गर्ने पनि चलन छ ।

    No comments:

    Post a Comment