Sunday, January 15, 2012

राष्ट्रपतिले नेताहरुलाई सोध- ‘आफ्नै सन्तानलाई नोकर देख्दा कस्तो लाग्छ ?’ बिदेशका नेपाली सम्झिएर भावुक बने राष्ट्रपति



१ माघ, काठमाडौं । ‘गाउँमा ठूलाबडाको घरमा भोजनका लागि बोलाइयो तर त्यहाँ आफ्नै सन्तान नोकर बसेको देख्दा तपाईलाई खाना रुच्छ ?’ मलाई पनि त्यस्तै भयो, गास निल्न निकै गाह्रो भयो ।’
मुलुकका राष्ट्रपति डा. रामवरण यादवले यस्तो प्रश्न गर्दा माघीको भोजनका लागि राष्ट्रपति भवन पुगको प्रमुख दलका शीर्ष नेताहरु मुखामुखमात्र गरे, केही जवाफ दिन सकेनन् ।
माघे सक्रान्तिका अबसरमा आफ्नै निवासमा दिवाभोजका लागि बोलाइएका दलका मुख्य नेतामाझ राष्ट्रपतिले बिदेशमा रहेका नेपालीहरुको पिडा सुनाइरहँदा त्यहाँ बिचित्रको मौनता थियो । कतार र दुबईको भ्रमणमा जाँदा त्यहाँ रहेका नेपालीहरुले पाएको दुःख देखेर आफ्नो मन रोएको भन्दै राष्ट्रपतिले देशलाई सम्बृद्धिको बाटोमा लैजान गम्भीर भएर लाग्न र दायित्वबोध गर्न दलका नेताहरुलाई सम्झाउनुभयो ।
रोजगारीको अभावमा खाडी तथा मलेसिया लगायतका मुलुकमा नारकीय जीवन जिउन नेपाली युवाहरु बाध्य रहेको भन्दै राष्ट्रपतिले यसको कारण खोज्दै देशलाई सम्बृद्ध बनाउनुको बिकल्प नभएको बताउनुभएको थियो । आफूले प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको भन्दै उहाँले जनसरोकारका मुद्धामा साझा सहमति गरी अघि बढ्न दलका नेताहरुलाई समेत आग्रह गर्नुभयो ।
आधा घण्टाभन्दा बढि एक्लै प्रवचन दिएका राष्ट्रपतिले बिदेशीमाझ आफ्नो देशको प्रतिष्ठा कायम राख्न दलका नेताहरुले खासै वास्ता नगरेको गुनासो गर्नुभयो ।
राष्ट्रपति डा. रामवरण यादवले शान्ति र संविधान निर्माण प्रत्रिया अवरुद्ध भएको चिन्ता व्यक्त गर्नु भएको छ । सातबुँदे सहमतिसँगै शान्ति र संविधान निर्माणमा केही गति लिएपनि फेरि अवरुद्ध भएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । शान्ति र संविधान निर्माण प्रत्रिया अवरुद्ध हुँदा जनतामा समेत निराशा पैदा भएको भन्दै राष्ट्रपति यादवले तोकिएको समयमा काम सक्ने गरी सहमतिका साथ अघि बढ्न आग्रह गर्नु भएको छ । ‘शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध भएको उहाँले चिन्ता व्यक्त गर्नु भएको छ’ भेटमा सहभागी परिवार दलका नेता एकनाथ ढकालले भन्नुभयो-’उहाँले तोकिएको समयमा शान्ति र संविधानका काम सक्न दलहरुका नेताहरुलाई आग्रह गर्नु भएको छ ।’ पछिल्लो समय पार्टीहरुमा आएको विभाजनप्रति चिन्ता व्यक्ति गर्दै उहाँले दलहरु फुट्दै जाँदा लोकतन्त्र नै कमजोर हुने भन्दै ध्यानाकषर्ण गराउनु भएको छ । ‘पहिले २४ दल थियो, अहिले ३२ वटा पुगिसकेको छ’ यादवले भन्नुभयो-’दलहरु फुट्नु भनेको लोकतन्त्र नै कमजोर हुनु हो ।’
राष्ट्रपतिले दलका नेताहरुलाई माघीको शुभकामना दिनुका साथै दिवा भोज समेत खुवाउनु भएको छ । दिवाभोजमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व प्रधानमन्त्रीहरु र संविधानसभामा रहेका ३२ दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जानु पर्ने भन्दै शुभकामना साटासाट गरेर फर्किनु भएको थियो ।

No comments:

Post a Comment