Thursday, January 12, 2012

बेलायती अभिनेत्री लुम्लेको पहलमा म्याग्दीमा बिद्यालय भवन

एक बेलायती अभिनेत्रीको सक्रियतामा म्याग्दीको बेग गाविस तिप्ल्याङमा विद्यालय भवन निर्माण गरिएको छ ।
बेग निवासी स्वर्गीय भिसी तुलबहादुर पुनको पहल र बेलायती अभिनेत्री जोना लुम्लीको सहयोगमा कालिका निम्न माध्यमिक विद्यालयमा १० कोठे पक्की भवन निर्माण गरिएको हो ।
दोस्रो विश्व युद्धमा देखाएको बहादुरीवापत भिक्टोरिया क्रसबाट सम्मानित पुनको गाउँको शैक्षिक विकास गर्ने इच्छाअनुसार अभिनेत्री लुम्लीको सक्रियतामा आर्थिक सङ्कलन गरी ब्रिटिस वेयलफेयरमार्फत भवन निर्माण गरिएको हो ।
स्थानीयवासीको रु चार लाख ६० हजार बराबरको श्रमदान र बाँकी वेयलफेयरको गरी रु ४९ लाखको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक देवराज गर्बुजाले जानकारी दिए ।
निर्माण पूरा नहुँदै गत वैशाखमा पुनको निधन भएको थियो । भवनको काम पूरा भए पनि आगामी वैशाखमा मात्र उद्घाटन गर्ने कार्यक्रम रहेको प्रअ गर्बुजाले बताए । यसअघि कच्ची भवनमा पठनपाठन हँुदैआएको विद्यालयमा पक्की भवन बनेपछि शिक्षक र विद्यार्थीलाई सुविधा भएको छ ।
विद्यालयले शैक्षिक गुणस्तरवृद्धि र विद्यार्थी टिकाइराख्न यस वर्ष कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको र अन्य कक्षामा पनि सुरु गरिने जनाएको छ ।

No comments:

Post a Comment