Sunday, January 15, 2012

लुम्बिनी भ्रमण वर्ष सुरु

माधव ढुंगाना
Lumbini
लुम्बिनी, माघ १ -  
लुम्बिनी भ्रमण वर्षको राष्ट्रपति रामबरण यादवले शनिबार शान्तिदीप प्रज्ज्वलन गर्दै उद्घाटन गरेका छन् । सँगै उनले 'टुरिजम भिजन २०२०' को घोषणासमेत गरे ।  
उनले निकै तामझामका साथ लुम्बिनीको शान्तिस्तुपनजिक केन्द्रीय नहरमाथि बनाइएको मञ्चमा आफ्नो संक्षिप्त लिखित मन्त्यव्य व्यक्त गर्दै राष्ट्रभावनाको सन्देशलाई मनन गरेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले भर्खरै सकिएको पर्यटन वर्षले केही पर्यटकीय स्थलको  पहिचान र केही पूर्वाधार तयार गरेको बताए । नेपाल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानबाट फाइदा लिन नसकेको स्विकादै उनले सरकार अब पर्यटनको विकासमा केन्दि्रत भएर लाग्ने बताए । 'त्यसका लागि सन् २०२० सम्ममा टुरिजम भिजनअन्तर्गत हरेक वर्ष छुट्टाछुट्टै स्थानमा पर्यटन वर्षको आयोजना गर्दै जानेछौं,' उनले भने, 'नयाँ पर्यटन गन्तव्यको खोजी र पूर्वाधारको विकासमा समेत सरकार केन्दि्रत हुनेछ । 
मन्त्री विष्टले लुम्बिनी भ्रमण वर्षले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दै रोजगारीका अवसरहरू सिर्जना गर्ने बताए । व्यवस्थापन र पूर्वाधारको विकासले गर्दा नेपाल भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक भित्र्याउन नसकिए पनि पर्यटन विकास सम्भावनाको ढोका खोलिएको दाबी गरे ।
संस्कृतिमन्त्री गोपाल किराँतीले बुद्धको जन्मस्थलको लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएर यसको फाइदा उठाउनुपर्ने बताए । 'लुम्बिनी हाम्रालागि अहिलेसम्म माल पाएर चाल नपाएजस्तै भयो,' उनले भने, 'नेपालीले गरेको विगतको गल्ती सच्याउँदै लुम्बिनीको माध्यमबाट अब आर्थिक क्रान्तिको उद्घोष गरिनुपर्छ ।  
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा साङ्बो शेर्पाले लुम्बिनी भ्रमण वर्ष लुम्बिनी क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने विश्वास गरे । उनले स्थानीय तहको बेरोजगारी समस्यालाई समाधान गर्ने उल्लेख गर्दै सहयोगका लागि आह्वान गरे । पर्यटन सचिव गणेश जोसीले सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या वाषिर्क २० लाख पुर्‍याउने लक्ष्यका साथ सरकार लागेको जानकारी गराए ।

No comments:

Post a Comment