Sunday, January 22, 2012

हलिउड सिनेमा हटाएर ‘लूट’

हलिउड सिनेमा हटाएर ‘लूट’
मेरोसिनेमा.com , काठमाडौं ८ माघ,

यतिबेला नेपाली सिनेमाको एउटा वर्ग ‘लूट’को आम्दानीलाई पत्याउन सकिरहेको छैन । उनीहरूले ‘लूट’को ग्रस कलेक्सनलाई ‘वाहियात’ भनेर टिप्पणी गरिरहेका छन् र यथार्थ स्वीकार्न सकिरहेका छैनन् । रिलिज विकेन्डजस्तै ‘लूट’ले दोस्रो साताको विकेन्डमा यति आक्रामक पिकअप गर्‍यो कि लगानी पनि नउठिरहेको नेपाली सिनेमामा यो कुरा किंवदन्तीजस्तै लाग्छ । पहिलो साता ७६ लाख ग्रस आम्दानी गरेको ‘लूट’का दोस्रो साताका केही झाँकीहरू यस्ता छन् ।

loot_in1_400_05

हलिउड सिनेमा हटाएर ‘लूट’
विदेशी सिनेमाले नेपाली चलचित्रलाई प्रदर्शनमा विस्थापित गरेको खबर त नयाँ होइन तर, शनिबार क्यूएफएक्स सेन्ट्रल अडिटोरिएम दुईमा प्रदर्शन हुँदै गरेको हलिउड सिनेमा ‘द डार्केस्ट आवर’लाई उतारेर ‘लूट’ प्रदर्शन गरियो । क्यूएफएक्स टिकट सेलर कृष्ण रिजाल दर्शकको चापले हलिउड सिनेमा सोलाई कटौती गरिएको बताए । क्यूएफएक्सले शनिबारदेखि कुमारीमा पनि ‘लूट’ प्रदर्शन थालेको छ । जयनेपाल, कुमारी र सेन्ट्रलमा गरि ‘लूट’का नौवटा सो छन् । प्रधानमन्त्रीका स्वकिय सचिव र छोरीले पनि कुमारीमा सिनेमालाई हेरे ।

गोपिकृष्णमा ब्लाकमेल र लाठीचार्ज
शनिबार गोपिकृष्णका दुईवटा सो ‘लूट’मा हाउसफूल रहे । डेढसयमा ब्लाकमेलिङ टिकट विक्री भैरहेको थियो । भीड हटाउन प्रहरीले लाठीचार्ज गरि चारजनालाई पक्राउपछि रिहा गरेको छ । ‘यो अहिलेसम्मकै अभूतपूर्व हो’ गोपिकृष्ण टिभी फिल्मीका पारस पौडेल भन्छन्, ‘सबै सोहरू हाउसफूल छन् ।’

‘लूट’को नामै लिएर शुभकामना
चलचित्र ‘काठमाण्डू’को आइतबारको पत्रकार सम्मेलनमा वक्ताहरूले नामै लिएर ‘लूट’ले जस्तै व्यापार गर्न र ‘लूट’ले देखाएको बाटोमा अघि बढ्न निर्देशक तथा निर्माता आकाश अधिकारीलाई आग्रह गरे । सम्भवतः एउटा सिनेमाको पत्रकार सम्मेलनमा अर्को सिनेमालाई आधार मानिएको यो पहिलोपटक हो ।

loot_in2_400_05

 तेहेर्‍याएर हेर्नेको घुइँचो
‘लूट’लाई दोहोर्‍याएर होइन, तेहेर्‍याएर हेर्ने दर्शकको घुइँचो यतिबेला हलहरूमा छ । खासगरि विद्यार्थी र तन्नेरीहरूले रिपिट गरेका छन् । पाँचपटक सिनेमा हेरेका एकाध दर्शक भेटिए । रिलिजपूर्व २० प्रतिशत दर्शकले सिनेमालाई दोहोर्‍याएर हेर्ने अनुमान गरिएको थियो ।

अष्ट्रेलियामा सिनेमा रिलिज
‘लूट’ आइतबार अष्ट्रेलियामा रिलिज भएको छ । सिड्नीको जर्जटाउनमा थ्रीडी इभेन्टको संयोजमा सिनेमा प्रदर्शन गरिएको छ । दर्शकले सिनेमा रुचाएको जनाइएको छ । पहिलो सोका सबै ६०० टिकट विक्री भएका थिए । सिनेमालाई कोपनहेगनमा पनि रिलिज गरिँदैछ । अन्य डायस्पोराबाट पनि ‘लूट’को माग भैरहेको छ ।

संकटकाल घोषणा होला त ?
‘लूट’को आक्रामक ब्यापारले चलचित्र विकास बोर्ड प्रस्तावित सिनेमा संकटकाललाई पुनर्विचार गर्ने तयारीमा छ । हप्तैपिच्छे सिनेमा उत्रने र लगानी डुबेको बेला तयार गरिएको इमर्जेन्सीलाई कार्यान्वयन गर्ने वा नगर्नेबारे बोर्डले ‘लूट’को ब्यापारलाई लिएर निर्णय गर्ने सम्भावना छ । पुनर्विचार गर्ने कुरालाई बोर्ड अध्यक्ष गणेश भण्डारीले संकेत गरे । 

No comments:

Post a Comment