Sunday, January 29, 2012

फेरी मनीषा ?


बलिउड अभिनेत्री मनीषा कोइरालासँग सम्बन्धित चर्चित प्रसंगहरू नेपाल तथा भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित भैरहन्छन्। इन्टरनेटको  सामाजिक सञ्चाल फेसबुक तथा ट्वीटरमा समेत मनीषासँग जोडिएका व्यक्तिगत प्रसंगहरू बारम्बार चर्चामा आइरहन्छन्। यसबीच यो साता  मनीषाको अर्को एउटा प्रसंग चर्चामा छ। विभिन्न नेपाली तथा भारतीय अनलाइन पत्रिकाले यो विषयलाई प्राथमिकताका साथ समाचार  बनाएका छन्। पछिल्लो प्रसंग मनीषाको अत्यधिक मदिरापानसँग सम्बन्धित छ।

गत आइतबार सार्वजनिक एउटा समाचार तथा त्यससँग सम्बन्धित तस्बिरका आधारमा मनीषाले पुनः अत्यधिक मदिरापान गर्ने बानीलाई  बल्झाएको बताइएको छ। गत शनिबार मात्र बर्सवामा खोलिएको एउटा नयाँ रेस्टुराँमा उनलाई नशामा चुर भएको देखिएको बताइन्छ। उनले  अत्यधिक मदिरापन गरेर आफैंलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेको उक्त समाचारमा उल्लेख छ। उक्त रेस्टुराँ मनीषाकै पूर्व प्रेमी प्रशान्त  चौधरीको भएको समाचारमा दाबी गरिएको छ। एउटा दक्षिण भारतीय चलचित्रमा अभिनय गर्ने क्रममा भारतमै रहेकी मनीषालाई मुम्बईमा  भएका बेला प्रशान्तले उक्त रेस्टुराँको उद्घाटन समारोहमा आमन्त्रण गरेका थिए। सूत्रहरूका अनुसार उद्घाटन समारोह तथा त्यसपछिको  पार्टीमा सहभागिता जनाउन मनीषाले कालो रंगको क्याजुअल वेयरमाथि खैरो ज्याकेट लगाएकी थिइन्। उक्त पहिरनमा उनी निकै सुस्त देखिएको बताइन्छ। भनिन्छ-पार्टीका क्रममा उनले यति धेरै मदिरापान गरिन्, आफैं एक्लै घर जाने स्थितिमा थिइन्न्। त्यसैले उनलाई उनका नजिकका साथीहरूले सम्हाल्दै घरसम्म पुर्‍याइदिए।

यसबीच, भारतीय सञ्चारमाध्यमहरूमा मनीषा तथा उनका नेपाली श्रीमान् सम्राट दाहालबीचको बिग्रँदो सम्बन्धका बारेमा पनि समाचारहरू प्रकाशित भैरहेका छन्। यस क्रममा मनीषाले आफ्ना श्रीमान्सँग डिभोर्स गर्न चाहेको समाचार पनि प्रकाशित भएका थिए। पछि दुवैको सम्बन्ध सामान्य भएको थियो। त्यसपछि उनले योगको कक्षासमेत लिएकी थिइन्, तर मनीषाका पछिल्ला क्रियाकलापका कारण श्रीमान्-श्रीमतीबीचको सम्बन्ध पुनः बिग्रिएको अनुमान गरिएको छ।

त्यसो त विगत डेढ महिनादेखि भारतमै रहेकी मनीषाले मुम्बईस्थित आफ्नो निवासमा आयोजित साथीहरूको जमघटमा आफूले चाँडै सम्राटसँग सम्बन्ध-विच्छेद गर्न चाहेको कुरा बताएको समाचार द टाइम्स इन्डियाले करिब दुई साताअघि प्रकाशित गरेको थियो। प्रायः केही नयाँ तथा व्यक्तिगत कुरा सार्वजनिक गर्नुपर्‍यो भने मनीषाले साथीभाइको जमघट नै रोज्ने गरेको पनि उक्त पत्रिकाले उल्लेख गरेको छ। डेढ वर्षअघि आफूभन्दा ६ वर्ष कान्छा सम्राट दाहालसँग विवाह गरेकी मनीषाले विवाह भएको ५ महिनापछि नै फेसबुकमार्फत आफूले डिभोर्स गर्न चाहेको बताएकी थिइन्। त्यसको केही समयपछि उनले फेसबुकमार्फत नै आक्रामक रूपमा प्रस्तुत हुँदै श्रीमान् सम्राट आफ्नो सबैभन्दा खराब शत्रु भएको बताएकी थिइन्। असमझदारीका बाबजुद मनीषा तथा सम्राटको दाम्पत्य जीवन अहिलेसम्म टिकिरहेको भए पनि अब भने उनीहरू डिभोर्सकै लागि तयार भैरहेको उक्त समाचारमा जनाइएको छ। पत्रिकाका अनुसार डिभोर्सका लागि मनीषाले चाँडै नै अदालती प्रक्रिया थाल्दैछिन्। मनीषाले अब स्थायी रूपमै मुम्बईमै बसोबास गर्ने निर्णय समेत गरिसकेकी छिन्। मुम्बईको आफ्नो निवासमा मनीषाले साथीभाइको जमघटमा आफू पुनः बलिउडमा र्फकन आतुर भएको कुरा बताएको कुरा पनि द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। 

No comments:

Post a Comment