Sunday, January 22, 2012

खेलाडीको जीवनशैली फेर्दै हिमालयन


अजय फुयाल, बुटवल, माघ ८- फुटबलमा व्यवस्थापन सबैभन्दा कठिन काम हो, त्यो पनि नेपालजस्तो अर्द्धव्यावसायिक ढाँचाको फुटबल व्यवस्थापन गर्न सहज छैन। यहाँ व्यावसायिक क्लबका आर्थिक पक्ष सबभन्दा चुनौतीपूर्ण रहने गरेको छ। प्रायोजक र अखिल नेपाल फुटबल संघबाट आउने सीमित रकम तथा चन्दा, पुरस्कार नै नेपाली क्लबले आम्दानी गर्ने मुख्य स्रोत हुन्।

सयौं खेलप्रेमीबाट चन्दा उठाएर टिम राम्रो बनाउने धुनमा करोड हाराहारीमा खर्च गर्न थालिसकेका छन्, नेपाली क्लबहरू। यस्तोमा व्यवस्थापन झन कठिन हुने यती हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाको बुझाइ छ। उनी भन्छन्, 'दुनियाँसँग हात फैलाएर पैसा ल्यायो, नतिजा राम्रो भएन भने सबैलाई जवाफ दिनुपर्छ। यस्तोमा हरेक क्लबका पदाधिकारीलाई धेरै चुनौती छ। राम्रो नतिजा ल्याउन सक्यो भने प्रायोजक र दाताबाट सहयोग जुटाउन पनि सजिलो हुन्छ।'
नेपाली फुटबल पूर्ण व्यावसायिक भइनसकेकाले खेलाडीको आचरणमा धेरै समस्या देखिएको उनी बताउँछन्। प्रतियोगिताको समयमा पनि खेलाडीको जीवनशैली अनुशासित नहुने भएका कारण सोचेजस्तो खेल नेपालमा सम्भव नभएको उनको तर्क छ। खेलाडीको खानपिनमा सबैभन्दा बढी समस्या देख्ने उनी भन्छन्, 'खेलाडीको जीवनशैली नै राम्रो भएन भने उसले राम्रो खेल्ने आशा गर्नु बेकार छ। राम्रो खेललाई खेलाडीले सही समयमा खानुपर्‍यो, सही समयमा सुत्ने र उठ्ने काम पनि गर्नुपर्‍यो। मेहनतका साथ प्रशिक्षकको निर्देशनअनुसार अभ्यास गर्नुपर्‍यो। कम्तीमा प्रतियोगिता दौरान जथाभावी घुमफिर र खराब खानपिनमा रोक लगाउनुपर्‍यो।'
हिमालयन शेर्पाले खेलाडीका तिनै समस्यामा कमी ल्याउन जारी राष्ट्रिय लिगमा आर्‍नै भान्छा चलाएको छ। काठमाडौंबाटै ल्याइएका भान्छेले पकाएको मेसमा क्लबका खेलाडीले पोखरा र बुटवलमा खानपिन गरिरहेका छन्। यसका लागि क्लबले भान्छेसहित पकाउने र खाने भाँडाकुँडा पनि काठमाडौंबाटै ल्याएको छ। 'आफ्नै भान्छामा पकाएर खाँदा खेलाडीले स्वस्थकर खाना पाउने भए, जसले प्रदर्शनमा केही भएपनि सुधार ल्याउनेछ। साथमा होटलमा जुन बेला खाए पनि हुने स्वतन्त्रता पनि खेलाडीलाई हुने छैन,' शेर्पाले भने, 'हाम्रो भान्छामा खाने समय निश्चित गरिएको छ। सबै खेलाडीले समयमा आएर खानै पर्छ। यसो गर्दा खेलाडीको अनावश्यक घुमफिरमा पनि बन्देज लागेको छ र सबैले समयमा स्वस्थ खाना पनि खाएका छन्।'
आफैले भान्छा चलाउँदा खेलाडीले स्वस्थकर खाना पाउनाका साथै क्लबलाई आर्थिक रूपमा समेत फाइदा पुग्ने अध्यक्ष शेर्पा बताउँछन्। करिब एक महिना लामो लिगमा आफैले भान्छा चलाएका कारण क्लबले ८० हजारको हाराहारीमा खर्च जोगाएको उनको दाबी छ। 'खेलाडीले पनि होटलभन्दा राम्रो खाना पाउने, क्लबलाई पनि आर्थिक फाइदा हुने भएकाले हामीले यो काम गरेका हौं,' उनले भने।
क्लब प्रशिक्षक उपेन्द्रमान सिंहले आफ्नै भान्छाको खाना होटलमा भन्दा स्वादिलो र स्वस्थकर भएकाले खेलाडी खुसी भएकोबताए। 'होटलको अनावश्यक चिल्लो र मसालेदारभन्दा हाम्रो भान्छेले पकाएको खाना धेरै मिठो छ। बाहिर खान जाउभन्दा पनि मेसको खाना सम्झेर जान मन लाग्दैन। खेलाडी पनि सबै खुसी छन्,' उनले भने।
टोलीका कप्तान सागर थापा पनि क्लबकै भान्छा हुँदा खानामा अपनत्व हुने र घरेलु स्वाद पाइने बताउँछन्। 'हाम्रो क्लबले नमूना काम गरेको छ। यसले खेलाडीको स्वास्थ्य र प्रदर्शनलाई क्लबले महत्व दिएको प्रमाणित गरेको छ,' थापाले भने, 'खेलाडीलाई समयमा खान पनि बाध्य पारेको छ। मेरो विचारमा हरेक क्लबले यस्तै व्यवस्था गर्नसके खेलाडीको जीवनशैलीमा केही भए पनि परिवर्तन आउँछ।'
क्लब अध्यक्ष शेर्पा व्यवस्थापनको चुनौती क्रमिक सहज बनाउँदै लाने क्रममा निकट भविष्यमा सुविधाजनक बस किन्ने योजनामा छन्। 'स्थापना भएको छोटो समयमै हामीले देशव्यापी धेरै समर्थक कमाइसकेका छौं। हरेक पटक खेल्न जाँदा हवाई टिकट वा भाडाको सवारी साधनमा जाँदा खेलाडीलाई समस्या भयो, क्लबलाई पनि आर्थिक भार। त्यसैले हामी अब चाँडै एउटा सुविधासम्पन्न बस किन्ने योजनामा छौं। त्यसो भए नदेखिएका अरु धेरै समस्याको पनि हल हुनेछ।' 

No comments:

Post a Comment