Friday, January 13, 2012

डाक्टरहरु कोही गाला पड्काउने कोही ढोका फुटाल्ने!

 January 12th, 2012

अन्नपूर्ण पोस्टमा छापिएको फोटोः डाक्टरले पिटेपछि डाम बसेको बिरामी बालिकाको गाला अनि डाक्टरलाई चुट्दै बिरामीका आफन्त।

आजभोलि पत्रिका नहेरे नि केही खबर थाहा पाइने, हेरे भने झन् मनै रुने भन्या नानाथरी खबर सुनेर। आज डाक्टरहरुको दुई वटा खबर दुई वटा पत्रिकामा छापिएको रहेछ। ‘अन्नपूर्ण पोस्ट’ मा डाक्टरले दाँतका बिरामी बालिकाको गालामा झापड हानेको खबर थियो भने ‘नागरिक’ मा वीर अस्पतालका डाक्टरले रिसले प्रशासनको ढोका फुटाएको। डाक्टर जस्तो जिम्मेवार पेशाका मानिस पनि के भा’ का हुन्। हुन त यो देशमा जिम्मेवार हुने ठेक्का डाक्टरले मात्र लिएका छन् र ! जस्ता अरु, उनीहरु पनि त्यस्तै !!

खासमा भएको चाहिँ यस्तो रहेछ-
लडेर एक बालिकाको दाँत भाँचिएछ। उपचार गराउन अभिभावकले इटहरीको सुस्वास्थ्य डेन्टल अस्पतालमा लगेछन्। सुई लाउन मानिनछिन् बालिका। अनि त डा. कृष्ण नेपालले बालिकाको गालामा नै थप्पड हान्देछन्। आफन्तका अनुसार अरु स्वास्थकर्मीले त बालिकालाई जगल्ट्याइन् पनि रे।
अब डाक्टरले कुटेपछि अभिभावकमात्र के कम र। उनीहरुको पनि ‘गोर्खे रिस’ उम्लिएछ। अनि पत्रकारहरु कै अगाडि मुक्का हान्देछन् डाक्टरलाई। मुक्का खानुअघि डाक्टरले आफ्नो गल्ती भएको स्वीकारेर माफी मागिसकेका रहेछन्। तर एक पटक हो र, दुई पटक चुटेछन् डाक्टरलाई। बायाँ आँखामुनि निलडाम परिसकेका डाक्टरले रुँदै आफूलाई केही नगर्न बिन्ति गरेछन्।
बिरामीलाई कुटेर डाक्टरले गल्ती त गरेका हुन् तर माफी मागिसकेपछि त्यसरी दुई दुई पटक चुट्न त नहुने नि। रिसैले हो बिगारेको। डाक्टरलाई बिरामीदेखि रिस उठेको थियो, बिरामीका अभिभावकलाई डाक्टरदेखि। संयम भन्ने चिज अलिकतिमात्र दुवै पक्षले सिकेको भए यस्तो हुने थिएन।
ढोका फोर्ने डाक्टर
अर्को घट्ना झन् अचम्मको छ। यसमा त डाक्टरले माफी पनि मागेका छैनन्। भएछ के भने हिजो प्रशासन शाखाका उपसचिव अर्जुन गौतमले एक जना डाक्टरको हाजिरीमा रातो चिह्न लगाइदिएछन्। अस्पतालका कर्मचारी समयमा नआउने, रिपोर्ट दिने मान्छेसमेत छैन भन्दै बिरामीका आफन्तहरु गुनासो लिएर प्रशासनमा आइपुगेपछि उनले रातो चिह्न लगाइदिएका रहेछन्।
लौ त्यसपछि त उल्का भइहाल्यो नि। मेरो हाजिर कपीमा रातो लाउने भन्दै रिसाएका रेडियोलोजी विभागका डा. केबी रावल केही डाक्टर र कर्मचारीलाई लिएर प्रशासनमा पुगेछन्। तर गौतमको कार्यकक्षमा त ताल्चा लगाएको। अनि त रिसले हान्देछन् ढोकैमा ड्याम्म ड्याम्म। ढोका फुटेछ।
अघिल्लो घटनामा डाक्टरले पत्रकारहरुको अगाडि माफी मागेको भए पनि यसमा भने डा रावलले मलाई हाइब्लड प्रेसर छ, गौतमको व्यवहार सहन नसकेर ढोका फुटाएको भनेर स्वीकारेछन्। ‘सधैं मेरै विभागलाई टार्गेट गर्ने? मेरो विभागमा हस्तक्षेप गर्न प्रशासनका मान्छेको के हैसियत?’ रे अझ।
प्रशासनका गौतमको पनि आफ्नै व्यथा रहेछ फेरि। रेडियोलोजीमा चिकित्सक र कर्मचारी समयमा नआएपछि बिरामी पनि आएर मलाई नै गुनासो गर्ने, ‘हेलो सरकार’ले नि मलाई नै सोध्ने। यस्तो मनपर्दी कसरी हेरेर बस्नु भनेर रातो लगाइदिएको हुँ भनेछन्।

No comments:

Post a Comment