Thursday, January 12, 2012

एसपी खरेलको बढुवा रोक्न चलखेल वीरगन्जमा दिनहुँ प्रदर्शन

प्रहरी उपरीक्षक (एसपी) रमेश खरेलको बढुवा हुने समयमा दुई दिनयता वीरगन्जमा विरोध प्रदर्शन भइरहेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आत्मसात् गरी ६ महिना जिल्लामा प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी खरेलले सीमा क्षेत्रमा हुने संगठित तस्करी र अपराधविरुद्ध आक्रामक कारबाही थालेका छन् । 
पूर्वराज्यमन्त्री तथा सभासद करिमा बेगमले विरोध जुलुसको अगुवाइ गरेकी छन् । फोरम लोकतान्त्रिककी नेतृ बेगमले प्रहरी प्रशासनले गरिबमाथि दमन गरेको आरोप लगाउँदै विरोध अभियान थालेको बताइन् । बुधबार निस्केको पहिलो जुलुसमा छाडा चौपायालाई उपमहानगरपालिकाले प्रहरीको सहयोगमा नियन्त्रणमा लिई जगंलमा छाडेको भन्दै उनले आक्रोश पोखिन् । सडकको दायाँ र बायाँ अव्यवस्थित तरकारी तथा फलफूल बिक्रीमा रोक लगाइएकामा उनको आपत्ति छ । पटकपटक सूचना जारी गर्दासमेत चौपायाधनीले अटेर गरेकाले प्रहरीको सहयोग लिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराईको भनाइ छ । 
छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापन तथा आवागमनमा समस्या परेको ट्राफिक प्रमुख लक्ष्मणसिंह ठकुरीले बताए । उनले भने, 'यसले दिनहुँ दुर्घटना निम्त्याएको थियो ।' मगंलबार राति मात्र मुरलीचोकमा मोटरसाइकलमा ठोक्किँदा गाई मरेको थियो । घटनामा मोटरसाइकल चालक प्रजय सिंहको दाहिने खुट्टा भाँचिएको प्रहरीेले जनाएको छ ।
झन्डै ३ करोडको लागतमा निर्माण हुन लागेको तरकारी बजारका लागि अव्यवस्थित रूपले तरकारी तथा फलफूल बिक्रेतालाई उक्त क्षेत्रबाट हटाएको उनले बताए । 'तरकारी र फलफूल बिक्रीका लागि नगरपालिकाले घन्टाघरअगाडि बिपी उद्यानमा स्थान छुट्याएको छ,' उनले भने । प्रहरी उपरीक्षकको बढुवा लाइनमा कार्य सम्पादनमा अब्बल ठहरिएका एसपी खरेलविरुद्धको जुलुसमा उनका प्रतिद्वन्द्वीमध्येका दुई एसपीले बढी चासो लिएको पाइएको छ । बिहान जुलुस निस्किनुअघि र साँझ आफू निकटस्थसँग निरन्तर फोन सम्पर्कमा रहेको स्रोतको दाबी छ । गत कात्तिकमा वीरगन्ज आएका गृहमन्त्री विजयकुमार गच्छदारले सहरदेखि गाउँसम्मको कार्यक्रममा एसपी खरेलजस्ता अधिकृत ७५ जिल्लामा जन्माउने घोषणा गरेर ताली खाएका थिए । वीरगन्ज उद्योग वाणिज्य संघमा उद्योगीसँगको भेटमा उनले एसपी खरेलको मनोबल बढाउन सुरक्षासम्बन्धी भेला यहाँ राखिएको बताएका थिए ।
गत मंगलबार स्थानीय राजनीतिक दलको अगुवाइमा वीरगन्जमा निस्केको जुलुसले एसपी खरेलको विरोधमा नाराबाजी गरेको थियो । उपमहानगरपालिका-१७ स्थित एक कठ्ठा ऐलानी जग्गा व्यक्तिगत बनाउन प्रहरी प्रशासनले संरक्षण गरेको भन्दै विरोध जुलुस निस्केको थियो । कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका स्थानीय नेतृत्वले जुलुस अगुवाइ गरेका थिए । पछिल्लो ६ महिनामा भएका परिवर्तनलाई नजिकबाट नियालिरहेका एमाले सचिवालय सदस्य अरविन्द सिंहका अनुसार विरोध जुलुस स्थानीय प्रहरी प्रशासनप्रतिको भँडास मात्र हो । उनले भने, 'एकजना इमानदारले धरैलाई समस्यामा पार्दो रहेछ ।' विरोध जुलुस धेरैका लागि अपत्यारिलो बन्यो । जुलुसमा सहभागीमध्येका एक पर्सा कांग्रेस सभापति सुरेन्द्र चौधरीले एसपी खरेलको विरोधमा नाराबाजी नगरेको बताए । 'जुलुसमा विभिन्न स्वार्थका मान्छे थिए,' उनले भने, 'हामी कानुनी शासनको पक्षधर हौँ ।' जग्गाधनीले लालपुर्जासहित भोगचलनका लागि प्रशासनमा निवेदन दिएकाले सुरक्षा प्रदान गरेको प्रहरी उपरीक्षक रमेश खरेलले बताए । उनले भने, 'स्वामित्वको विवाद जुलुसले हैन, अदालतले फैसला गर्ने हो ।' यसअघि जिल्लामा नेताहरूको दबाबमा प्रहरीले काम गर्दै आएकामा साहले भोगचलन गर्न पाएका थिएनन् । आन्दोलनको अगुवाइ गरिरहेका स्थानीय रामनारायण कुर्मीले ऐलानी जग्गा व्यक्तिगत बनाउन प्रहरीले सहयोग गरेकाले विरोध गरेको बताए ।
'राजनीतिक दलको नभएर जनताको नोकर हुँ,' भन्ने एसपी खरेलको कार्यशैलीप्रति दलहरू असन्तुष्ट बनेका छन् । कांग्रेस, एमाले, माओवादी, फोरमलगायत पार्टीको आडमा आपराधिक गतिविधिमा संलग्न नेता र तस्करलाई एसपीले थुनेका छन् । एसपी खरेल आएदेखि पर्सावासीले सुरक्षा अनुभूति पाउनुको साथै छोटी भन्सारमा राजस्व वृद्धि, सवारी चालक अनुमतिपत्रमा कडाइ, त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा समेत उल्लेखनीय सुधार भएका छन् ।

No comments:

Post a Comment