Sunday, January 29, 2012

न्युरोडको गुँदपाक सेन्टरद्वारा पत्रकार सम्मेलन, दुष्प्रचार गरिएको आरोप

अनुगमनका क्रममा म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएपछि वाणिज्य विभागको कारबाहीमा परेको न्युरोडको ताजा कर्नर गुँदपाक सेन्टरले आज पत्रकार सम्मेलन गर्दै दुष्प्रचार गरी आफूहरुलाई फसाइएको आरोप लगाएको छ।

ताहाचलस्थित कारखाना परिसरमा नै गरिएको पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा प्रोपाइटर मदनबाबा मास्केको तर्फबाट उनका छोरा मनेन्द्रलाल मास्केले विभागले गरेको कारखानाको निरीक्षणमा कुनै किसिमको अनियमितता नदेखेको दावी गरिएको छ।
तर वाणिज्य विभागको अनुगमन टोलीले गत भदौ १९ गते 'गुँदपाक भण्डार'को उत्पादन स्थल निरीक्षण गर्दा 'म्याद गुज्रेको भनी फर्काइएका' लाखामरी, पुष्टकारी र गुँदपाकलाई नै फेरि प्रशोधन गरिएको फेला पारेको थियो।
विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले 'दुषित मिठाइ प्रशोधन गरेर गुँदपाक बनाएको भेटिएपछि गुँदपाक भण्डारको उत्पादन र बिक्री रोक्का राख्न निर्देशन दिएको' बताएका थिए। कारखानामा पुनः प्रयोगका लागि फिर्ता ल्याइएका १ हजार ३ सय किलोभन्दा बढी म्याद गुज्रिएका दुषित मिठाइ फेला परेको उनले जानकारी दिएका थिए। ती मिठाइ काठमाडौं महानगरपालिकाको सहकार्यमा नष्ट गरिएका थिए।
अनुगमनका लागि जाँदा कामदारहरू बजारबाट फर्काइएका लाखामारी, पुष्टकारी, गुँदपाकलगायत मिठाइ फेरि प्रयोगका लागि धुलो पारिरहेका थिए। थापाका अनुसार कामदारसँग बयान लिँदा म्याद गुज्रिएका मिठाइ 'प्रशोधन गरेर फेरि बिक्रीमा पठाउन लागेको' स्वीकार गरेका थिए।
मास्केले भने 'त्यहाँको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरेको' आरोप लगाएका छन्। काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरुको हडताल चलिरहेको कारण कारखानाबाट त्यतिबेला फोहोर उठ्न नसकेको स्पष्टिकरण उनले दिएका छन्।
आफूहरुलाई कुन मुद्दा उपर कारवाही चलाइयो भन्ने जानकारी समेत नगराइको र र २८ दिनको हिरासत पछि आमाको नाममा ५ लाख र आफ्नो नाममा १० लाख घरौटी जम्मा गराई हिरासतमुक्त गरिएको उनले बताए।
आफ्नो बिक्री कक्षबाट हाल विवादमा रहेको सामाग्रीदेखि बाहेक अन्य सामानको पसल चलाउँछु भन्दा पनि सम्बन्धित निकायले सिलबन्द गरी बन्द गरिदिएको र त्यसरी सिलबन्दी गर्नुपर्ने कारणबारे आफूहरुलाई केही जानकारी नदिइएको उनको आरोप छ।
तर जिल्ला प्रशासन कार्यालयका अधिकृत खगेन्द्रप्रसाद रिजालले जिल्ला प्रशासन कार्यालयमा कालोबजार र खाद्य ऐन अनुसारका मुद्दा किनारा नलाग्दै पसल खोलेकाले अनुगमन टोलीले गत पुस ७ गते सिलबन्दी गरेको बताएका छन्। 'अनुमति नलिइकनै पसल खोलिएकाले सिलबन्दी गरिएको हो,' रिजालले भने, 'उनीहरुले पसल सञ्चालन गर्न अनुमति पनि मागेका छैनन्।'
अनुगमनको क्रममा परीक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य वस्तु मिसावट भएको प्रतिवेदन नभएको दावी पनि मास्केले गरेका छन्। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला परीक्षणमा गुँदपाकमा हानिकारक किटाणु भेटिएपछि विभागले खाद्य ऐनअनुसार पुसमा मुद्दा दर्ता गरिसकेको छ। गुँदपाक भण्डारका सञ्चालकविरुद्ध वाणिज्य विभागले भने उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दाअघि बढाएको छ।  (काठमाडौँ, माघ १५ (नागरिक)-)

No comments:

Post a Comment