Wednesday, March 21, 2012

विमान चार्टर गरी सिकार खेल्न



काठमाडौ, चैत्र ९ - एक साताअघि त्रिभुवन विमानस्थलको पार्किङमा सेतो भुइँमा पहेँलो र हरियो रङको धर्सो भएको जहाज थियो । विमान हेर्दा नियमित उडान गर्ने कम्पनीको थिएन ।


airlines









बम्बाडियरको यो जहाजमा दुई जना रसियन सिकारी र एक जना अस्टि्रयन नागरिक ढोरपाटन राष्ट्रिय निकुन्जमा सिकार खेल्न आएका रहेछन् । तीन जना मात्र एउटा जहाज नै चार्टर गरेर सिकार खेल्न नेपाल आउनुलाई पर्यटन व्यवसायीहरू सकारात्मक मान्छन् ।
'यस्ता मान्छेहरू बढी खर्च गर्ने प्रकृतिका हुन्छन्,' ट्रेक्स एन्ड ट्रेलका सञ्चालक अतुल खड्का भन्छन्, 'सरकारले यस किसिमको पर्यटनबाट ठूलै राजस्व पाउँछ ।' सिकारका लागि लान चाहने एजेन्सीले बढाबढ टेन्डरमा भाग लिनुपर्ने हुन्छ । जसले बढी रकम तिर्‍यो उसले चाहेको समयमा सिकारीलाई निकुन्ज लान पाउँछन् ।
खड्का पेसेवर सिकार अनुमतिपत्र प्राप्त ट्राभल एजेन्सी चलाउँछन् । सरकारले यो अनुमति नभएकालाई विदेशीलाई निकुन्ज लान दिँदैन । उनीसँगै सिकारका लागि आउने पाहुनालाई निकुन्ज लान पाउने अनुमति भएकाहरू जम्मा चारजना छन् । प्रत्येक वर्ष सरकारले निकुन्जमा सिकार गर्नका लागि दुई पटक (असोज-कात्तिक र चैत-वैशाख) मा मात्र खुला गर्छ । यसपालिका लागि १५ नाहुर र ९ झारल मार्न पाउने सरकारी कोटा छ ।
नाहुर मार्न ढोरपाटन जानेले न्यूनतम ४० हजार रुपैयाँ र झारलका लागि २० हजार रुपैयाँ शुल्कमा बढाबढ गरेर अनुमति लिनुपर्ने हुन्छ । यसपालि जानेले एउटा नाहुरका लागि सबैभन्दा बढी १ लाख ६० हजार रुपैयाँसम्म तिरेको राष्ट्रिय निकुन्ज कार्यालय बबरमहल व्यवस्थापन विभागका विष्णु थपलियाले बताए । राष्ट्रिय निकुन्जभित्र सिकार गर्नेले खण्ड रोज्नुपर्छ । त्यहाँ सात खण्ड छुट्टयाइएको छ । एक खण्डका लागि दिनमा न्यूनतम ५ हजार रुपैयाँ सरकारलाई बुझाउनुपर्छ । सातमध्ये ६ खण्डमा मात्र सिकार गर्न पाइन्छ । यसरी छानेको खण्डमा सिकार गर्न अधिकतम तीन साताका लागि मात्र अनुमति दिइन्छ ।
त्यस्तै सामान्य र पूरक सिकार अनुमतिपत्रका लागि न्यूनतम २५ हजार रुपैयाँ तिर्नुपर्छ । थपलियाका अनुसार सिकार गरिसकेपछि फर्किने समयमा नाहुरको छाला र सिङ धेरैले आफ्नो मुलुक लाने गर्छन् । 'यसका लागि पनि प्रत्येकले ५ सय रुपैयाँ तिर्छन्,' उनले भने, 'यो शुल्क तिरेपछि मात्र निकुन्जले छाला र सिङ लान पाउने प्रमाणपत्र बनाइदिन्छ ।'
सिकार जानेले प्रतिव्यक्ति एउटा मात्र जनावर मार्न पाउने नियम
छ । थपलियाका अनुसार चैत-वैशाखका लागि क्यानडा, अमेरिका र स्पेनबाट पनि सिकारी आएका छन् । 'यी मुलुकबाट आएकाहरू निकुन्ज पुगिसकेका छन्,' उनले भने ।
नेपाललगायत पाकिस्तान, इरान, अपि|mका र युरोपका केही मुलुकमा मात्र संरक्षित क्षेत्रभित्र सिकार खेल्न दिने प्रावधान छ । तर अधिकांश सिकारी नेपाल आउन रुचाउने खड्का बताउँछन् । 'गएकै वर्ष हामीलाई सन् २०१३ सम्मको बुकिङ आएको छ,' उनले भने 'असोज-कात्तिक चाडपर्वको समय र चैत-वैशाख पदयात्राका लागि बढी सुहाउँदिलो भएकाले अन्य मुलुकभन्दा विदेशीहरू नेपाल आउन रुचाउँछन् ।
अन्तर्राष्ट्रियस्तरमा यसले नेपालको पर्यटन र हिमाली क्षेत्रको राम्रो प्रचारसमेत भइरहेको छ ।' सन् १९८७ मा धौलागिरि, रुकुम, म्याग्दी र बाग्लुङको बीचमा पर्ने क्षेत्रलाई संरक्षित गरी ढोरपाटन राष्ट्रिय निकुन्ज बनाइएको थियो ।
सिकार गर्न दिने मुलुकको छाता संगठन 'सफारी क्लब इन्टरनेसनल' को प्रत्येक वर्ष बस्ने बैठकले सिकार पर्यटनको प्रवर्द्धनका लागि सहयोग पुर्‍याउँदै आइरहेको छ । संगठनमार्फत सिकार गर्न चाहनेले सीधै यहाँका व्यवसायीहरूलाई सम्पर्क गर्ने गर्छन् । खड्का भन्छन्, 'एजेन्टमार्फत आउने केही कम छन् ।' यसरी सिकारका लागि दुई वर्षअघि रसियन राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष सल्लाहकारसमेत नेपाल आएका थिए ।

प्रकाशित मिति: २०६८ चैत्र ९ ०८:२८ 

No comments:

Post a Comment