Thursday, March 29, 2012

ट्राफिक प्रहरीले जरिवानावापत उठाएको रकमको १५ प्रतिशत रकम प्रोत्साहन भत्तावापत उनीहरुलाई नै दिने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १५ प्रतिशत रकम प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रहरीले मंसिरबाट मापसे, सिटबेल्ट लगायतका अभियान चलाएको छ । अधियानबाट ५ करोड ९३ लाख ३२ हजार २५ रुपैयाँ राजश्व उठिसकेको छ ।
बैठकले जोरपाटीमा बोक्सीको आरोपमा दुवै आँखा फुटाइएकी सुनिता पुडासैनीलाई दुई लाख क्षतिपूर्तिवापत दिने निर्णय गरेको छ । घटनामा घाइते भएकी खुमकुमारी दाहाल र पुडासैनीको उपचार खर्चवापत लागेको रकम सरकारले बेहोर्ने भएको हो । यसैगरी बैठकले बोक्सीको आरोपमा देशव्यापी महिलाहरुमाथि भएको हिंसा रोक्नका लागि बनेको विधेयक संसदमा पेस गर्ने स्वीकृति दिएको छ ।
यसैगरी बैठकले द्वन्द्व प्रभावित परिवार, संस्था र भौतिक संरचनाको क्षतिसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको म्याद छ महिना थप गरेको छ भने सेना समायोजन विशेष समितिको सचिवालयमा कार्यरत कर्मचारीहरुको म्याद वैशाख मसान्तसम्म थप गरेको छ ।
आगामी असार ५ गतेदेखि ८ गतेसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका लागि प्रधानमन्त्रीको भ्रमण दलमा जाने टोलीलाई बैठकले भ्रमण स्वीकृत प्रदान गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । यस्तै इटाली नागरिक टिभी पत्रकार भिक्टोरी ब्रमोडीले सगरमाथा आरोहणका लागि माग गर्नुभएकामा बैठकले स्वीकृत प्रदान गर्दै ५० प्रतिशत सलामी दस्तुर मिनाहा गरेको छ ।
यसैगरी बैठकले स्वास्थ्य सेवा मेडिकलतर्फका तरुण पौडेलको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरिएको छ । बैठकले राष्ट्र बैंक सञ्चालक समितिको रिक्त सदस्यहरुमा रामहरि अर्याल र डा श्रीराम पौडेललाई नियुक्त गरेको छ 

No comments:

Post a Comment