Sunday, April 22, 2012

अमेरिकी वैज्ञानिक सगरमाथा आधार शिविरतिर

  • आरोहीको स्वास्थ्य अध्ययन गरिन

Mount-Everest
काठमाडौं , वैशाख १० - सगरमाथा आरोहणमा जानेहरूको उच्च अल्टिच्युडमा रक्तप्रणालीमा पर्ने असरबारे अध्ययन गर्न अमेरिकी वैज्ञानिकको टोली शुक्रबार आधारशिविरतर्फ गएको छ । टोलीले त्यहाँ प्रयोगशाला स्थापित गरी अध्ययन गर्ने बताएको छ ।
मुटुसम्बन्धी रोगबारे रोचेस्टरस्थित मायो क्लिनिकमा परामर्शदाताको रूपमा काम गरेका ब्रुक जोनसनले उचाइमा फोक्सोको क्रियाकलापसम्बन्धी अध्ययनमा इच्छुक रहेको बताए । 'उचाइमा यसको क्रिया हृदयाघात भएका बिरामीको फोक्सोको क्रिया प्रणालीसँग मिल्ने हुन्छ,' उनले भने । उनी बसेको ठाउँमा उपचारसम्बन्धी अध्ययनका लागि लगिने उपकरणहरू वरपर छरिएका थिए ।
टोलीमा रहेका सबै सदस्यले पहिल्यै हिमाली क्षेत्रमा आफूलाई उचाइअनुसार अभ्यस्त बनाउँदै लगेकाले आधार शिविरमा बनाइने प्रयोगशालामा बसेर काम गर्न सक्ने उनको दाबी छ । टोलीसँग रगतमा अक्सिजनको मात्रा, शरीरले गरेको ऊर्जा खर्च र क्यालोरी खपत नाप्न नाडीमा बाँधिने विशेष प्रकारको घडीसमेत रहेको जोनसनले जानकारी दिए । यस्तो खाले अध्ययन सन् १९६३  मा समेत भएको थियो । जोनसनले अहिले गरिने अध्ययन त्यसकै विस्तारित रूप भएको बताएका छन् ।
अध्ययनअन्तर्गत आरोहीको लुगामा रहेको खल्तीमा 'मायो प्ल्याटर्फम' नामक एक उपकरण जडान गरी उसको मुुटुको प्रणालीले कस्तो काम गरिरहेको छ भन्ने जाँचिनेछ । त्यस्तै अक्सिजनको मात्रा कम भएको स्थानमा आरोहीको सोच्ने क्षमता कस्तो रहन्छ भन्नेबारे जान्न टोलीले विशेष रूपमा बनाइएको भिडियो गेमको प्रयोग गर्ने उनले बताए ।
'एक्सटि्रम' स्थितिमा मान्छेको शरीरले कस्तो किसिमले काम गर्छ भनेर गरिएका पुराना अध्ययनमा नयाँ आयाम थप्न आरोहीमा यस्तो अनुसन्धान गर्न लागिएको दाबी टोलीको छ ।
'यो अध्ययनले उचाइमा लाग्ने रोग र हिमालमा आरोहीको मृत्यु हुनुको मुख्य कारणबारे नयाँ तथा थप जानकारी सबैलाई प्रदान गर्नेछ,' जोनसनले थपे । आरोहण सुरु भएयता हालसम्म सगरमाथा चढ्न जानेमध्ये २ सय २१ भन्दा बढीको मृत्यु भएको तथ्यांक छ ।
हालसम्म ३ हजार ७  सयभन्दा बढीले सगरमाथा चढेका छन्  । यसपालि ३ सयभन्दा बढी विदेशी र ४ सयको हाराहारीमा शेर्पा गाइड आरोहणको तयारीमा छन् । जसमध्ये क्यालिफोर्निया निवासी ७० वर्षीय बिल बुर्केसमेत छन् ।  सगरमाथा चढ्न उत्तरपट्टकिो बाटो रोज्नेमा यसपालि ३ वटा टोली समावेश छन् । 

No comments:

Post a Comment