Wednesday, February 29, 2012

राष्ट्रिय गौरवका आयोजनालाई तत्काल पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तत्काल पूरा गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री भट्टराईले १०/१५ वर्ष अघि देखि सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरु पूरा हुन नसकेको र अत्यन्तै सुस्त गतिमा अघि बढेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोजनका कामहरुलाई दू्रत गतिमा पूरा गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री भट्टराईले विगतमा किन काम भएन भन्दा पनि अवका दिनमा दू्रत गतिमा काम गर्न निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाको महत्वको बारे सर्वसाधारणलाई जानकारी नभएको भन्दै यसको महत्वको बारेमा जानकारी दिन मुख्य सचिवलाई निर्देशन दिनुभयो । उहाँले जनतालाई आशा जगाउने उद्देश्यले यस्तो योजना ल्याएको र यी आयोजनाहरु पूरा गराउन आफू लागिपरेको भन्दै यसको महत्वको विषयमा जानकारी गराउन सके काम गर्न थप सहयोग हुने बताउनुभयो ।
आयोजना पूरा गर्नका लागि लगानी भित्र्याउन आफू लागि परेको भन्दै उहाँले सम्भावित श्रोतको पहिचान गर्न पनि सचिवहरुलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरु एक दर्जन भन्दा बढी भए पनि तत्कालका लागि रणनीतिक महत्व भएका आयोजनाहरुलाई पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । उहाँले काठमाडौ तराई फास्टट्राक निर्माण र ७५० मेघावाटको पश्चिम सेति जलविद्युत परियोजनाको कामलाई दु्रत गतिमा अघि बढाउन सचिवहरुलाई निर्देशन दिनुभयो । निजगढ विमान स्थलको कामसँगै भारतसँगबाट लिनु पर्ने एयर रुटका लागि आजैबाट छलफल तिब्र पार्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले आयोजनाहरुमा भएका कामको प्रगतिको आधारमा सम्बन्धित पक्षलाई पुरस्कार र दण्डको समेत व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
छलफलमा अर्थ, पर्यटन, उर्जा, भौतिक योजना तथा निर्माण, सिंचाई र सामान्य प्रशासन मन्त्री सहित मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो । छलफलमा सचिवहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अधिकांश काम सन्तोषजनक ढंगले अघि बढेको बताएका थिए । यद्यपी कतिपय आयोजनाहरुमा ठेकेदारको लापरवाहीका कारण काम सुस्त भएको जानकारी गराएका थिए ।

No comments:

Post a Comment