Sunday, February 5, 2012

सन्तोषले पाए चिटिक्कको ह्विलचेयर




उपेन्द्र लामिछाने, मकवानपुर, माघ २२- 

Click on the slide!


मनहरी-३ रमनटारका दुई साना भाइको मेलले ठूला मानिस प्रभावित भएका छन्। बाल्यकालदेखि नै अपांग रहेका सन्तोष बलको ह्विलचेयर डोराउँदै विद्यालय ल्याउनेलैजाने बाढीपिडित प्राविमा कक्षा २ मा अध्यनरत रोशन स्यांग्तानले धेरैको स्याबासी पाए। 





'नागरिक दैनिकमा शुक्रबार छापिएको 'साना भाइको ठूलो मेल' तस्बिर/समाचारले मेरो मन छोयो,' सन्तोष र रोशनलाई भेट्न सानो ह्विलचेयर र लत्ताकपडा बोकेर उनीहरूको घरमै आइपुगेका काठमाडौं सीतापाइलाका मनोजकुमार सापकोटाले भने, 'यी दुई बीचको मित्रता सधैं रहोस् भन्ने कामना गर्छु।' सापकोटा लायन्स क्लबका सदस्य हुन्।
'ठूलो ह्विलचेयर चलाउन अप्ठ्यारो भएको थाहा पाएँ,' उनले भने, 'सजिलो होला भनेर सानो ह्विलचेयर बोकेर आएँ।' सापकोटाले ह्विलचेयर ठेल्दै गरेका रोशनबाट निकै प्रभावित भएको सुनाए। 'साना केटाकेटीको यो गम्भीर मेल अनुकरणीय छ,' उनले भने।
सापकोटाले सन्तोषसँगै रोशनलाई पनि ट्र्याकसुट, स्कुलड्रेस र कापीकलम दिए। 'दुवै साथीलाई एकै रङको कपडा दिएँ,' उनले भने, 'यी दुईलाई अन्य केटाकेटीभन्दा भिन्न पाएँ।' सापकोटाले तस्बिरमा देखिएका अर्का बालकलाई पनि लत्ताकपडा र कापीकलम दिए। ' म यिनीहरूलाई पछि पनि सहयोग गर्छु,' उनले वाचा गरे।
सानो र चिटिक्क परेको ह्विलचेयर पाएर सन्तोष फुरुंग भए। उनले दाताको सामुन्ने नै ह्विलचेयरमा एक फन्को मारे। 'चलाउन सजिलो छ,' उनले भने, 'यो पाउँदा रमाइलो लाग्यो।' साथीले नयाँ ह्विलचेयर पाउँदा सहपाठी रोशन पनि खुसी भए।
'मलाई पनि खुसी लागेको छ,' उनले भने, 'सम्ममा ऊ आफैं चलाउँछ, उकालो-ओरालामो म सहयोग गर्छु।'
दुई साथीको मेलले छिमेकी गाउँका समेत प्रभावित बनेका छन्। 'हामीलाई पनि यो खबरले खुसी दिएको छ,' सन्तोषको घरमा भेटिएका प्रतापपुरका विष्णुबहादुर राईले भने, 'यिनीहरूको मेल गज्जब पाएँ।'
दुई साथीको मेलले विद्यालयका प्रधानाध्यापक प्रल्हाद परियार पनि प्रभावित छन्। 'उनीहरू विद्यालयमा पनि मिलेर बस्छन्,' उनले भने, 'अन्य विद्यार्थी पनि उनीहरूको मेलबाट खुसी छन्।' सन्तोष पढ्न मेहनती भएको उनले बताए। 'विद्यालयले उनलाई निशुल्क अध्ययनको व्यवस्था गरेको छ,' उनले जानकारी दिए।
छोराले ह्विलचेयर पाएकामा आमा रीता लामाले सबैलाई आभार व्यक्त गरिन्। दुई वर्षअघि कक्षा ९ मा पढ्ने उनको जेठो छोरोले विद्यालयबाट आउँदै गर्दा सडक दुर्घटनामा ज्यान गुमाएका थिए। 'मेरो सबै भरोसा यही सानोमा छ,' उनले भनिन्, 'उसले राम्रो पढोस् भन्ने चाहन्छु।' छोरालाई विद्यालयबाट ल्याउनेलैजाने रोशनले आफूलाई गुन लगाएको उनले बताइन्।
'म केटी हैन है' नागरिक दैनिकमा लामो कपालसहितको तस्बिर छापिएपछि धेरैले सन्तोषका साथी रोशनलाई केटी ठाने। राजधानीबाट उनलाई भेट्न आएकी रीना राईले स्कुल ड्रेसका रूपमा सर्ट र स्कर्टको कपडा बोकेर आएकी थिइन्। 'मैले उनलाई केटी ठानेर स्कर्टको कपडा बोकेर आएँ,' रीनाले भनिन्, 'यहाँ आएपछि पो थाहा पाएँ, उनी त केटा रहेछन्।'
आफ्नो व्रतबन्ध नगरिसकेकाले कपाल पालेको रोशनले बताए। 'म केटा नै हुँ,' आगन्तुकको जिज्ञासामा उनले भने, 'केटी हैन।'
--------------------------------------------------
--------------------------------------------------

साथीको सहयोगले ह्‍विलचियर बसेर विद्यालयबाट घर फर्कदै मकवानपुर मनहरी-३ रमनटारका १२ वर्षीय सन्तोष बल। कक्षा १ मा अध्यनरत उनलाई २ मा पढ्ने १० वर्षीय रोशन स्याङ्गतानले विद्यालय लाने-ल्याउने गरेका छन्। तस्बिर: उपेन्द्र लामिछान

Click on the slide!


No comments:

Post a Comment