Sunday, February 26, 2012

बिरामीको पेटभित्र ६ महिनासम्म कैंची

टिम अस्पतालद्वारा गल्ती स्वीकार- 

६ महिनापछि निकालियो-
छानबिन हुन्छ : प्रजिअ-

बरुण पनेरु, डडेल्धुरा, फागुन १२- छ महिनाअघि टिम अस्पताल डडेल्धुरा पुगेका अमरगढी– १ दूधकाडेका ४२ वर्षीय देवबहादुर सार्कीले पेटको अप्रेसन गराए। डडेल्धुरामा अप्रेसन गर्दा पनि राम्रो नभएपछि उपचार गराउन भारतीय अस्पताल गए। 
'यहाँ उपचार गरेर केही साध्य नलागेपछि भारतीय अस्पतालमा उपचार गराउँदा पेटभित्रै कैंची भएको थाहा पायौं'- सार्कीका छोरा धर्मले भने- भारतीय चिकित्सकहरुले पटेभित्र कैंची भएको बताएका हुन।'

हामीले पहिले नेपालमा उपचार गराएको जानकारी गराएपछि बल्ल उपचार सुरु गरिएको हो। तीन साताअघि भारतीय टुर्नाम्याक्स सर्जिकल हस्पिटल सीतारगन्जमा अप्रेसन गरेका थिए। भारतीय अस्पतालले पेटमा कैंची भेटिएको उपचार पर्चीमा उल्लेख गरेको छ। भारतीय चिकित्सकहरुले अप्रेसन गर्ने समयमा पेटभित्रै कैंची देखेपछि अचम्म पर्दै सोधेको देवका ज्वाइँ प्रकाश सार्कीले नागरिकसित भने- कैंची देखिएकै कारण उपचारमा थप खर्च बेहोर्नुपर्‍यो।

आन्द्राको समस्या भएका सार्कीको दोस्रो अप्रेसनका क्रमका चिकित्सकहरुको पेटकमा चौकी छ भनेपछि मात्रै जानकारी भएको धर्मले बताए। ६ महिनाअगाडि आन्द्राको शल्यक्रिया गराएका अमरगढी नगरपालिका–१ का सार्कीको पेटमा चिकित्सकको असावधानीबस कैंची छुटेको टिम अस्पतालले स्वीकार गरेको छ। असार २८ गते आन्द्राको समस्या भएर टिम अस्पतालमा भर्ना गरिएका उनको ३१ गते टिम अस्पतालका डा. शिव शिर्मलले शल्यक्रिया गरेका थिए।

बिरामी निको नभएपछि उपचारका लागि भारत पुर्‍याइएकामा भारतको टुर्नाम्याक्स सर्जिकल हस्पिटलले ६ महिनापछि माघ २५ गते टिम अस्पतालमा शल्यक्रियाका क्रममा प्रयोग गरीएको उनको पेटमा छुटेको करिव ५ सेन्टिमिटरको कैंची शल्यक्रिया गरी निकालेको थियो।

कैंची छुटेको हुन सक्छ', टिम अस्पतालका निमित्त प्रशासक पृथ्वी केसीले भने- अप्रेसन गर्ने चिकित्सक अहिले डडेल्धुरामा नभएका कारण पूर्णरुपमा केही भन्न सकिँदैन। बिरामीको पेटमा कैंची भेटिएपछि स्थानीयले जिल्ला प्रशासनमा मुद्दा दिएका थिए। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छानबिन गर्ने र अहिले पीडित पक्षलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

'गल्ती स्वीकार गर्दैं टिम अस्पताल ५० हजार क्षतिपूर्ति दिन तयार भएको छ', प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने- घटनाको थप अनुसन्धान पनि हुन्छ।' एक दुई दिनमै छानबिन कमिटीसमेत गठन हुन्छ- उनले भने। टिम अस्पतालमा महिनौंपिच्छे चिकित्सकको लापरबाहीका घटना हुने गरेका छन्। पेटभित्रै कैंची राख्‍नु गम्भीर गल्ती भएको भन्दै स्थानीयले टिम अस्पतालका चिकित्सकलाई कारबाही माग गरेका छन्।

No comments:

Post a Comment